एकादेशमा एउटा देश थियो अरे । देश भएपछि त्यहाँ नागरिक हुने नै भए । नागरिक भए पछि कसै न कसैले त्यहाँ नेता भएर अवतार लिने नै भए । नेता जन्मेकैले गर्दा त्यहाँका नागरिकहरू जनतामा रुपान्तरित भए अरे । यदि त्यहाँ नेता नभएका भए ती नागरिकहरू नागरिक मात्रै हुन्थे वा मान्छे मात्रै हुन्थे अरे, तर तिनीहरूभन्दा धेरै माथि टाउकामा बसेर शासन गर्ने नेताहरूको प्रतिष्ठाका लागि तिनीहरू जनता भइदिए अरे ।

जनता भए पछि निरीहता हुने नै भयो । जनताहरू निरीह थिए । उनीहरूलाई सधैं खान लाउनको दुःख थियो । यातायातको असुविधा थियो । खानेपानी थिएन । अस्पताल थिएन । स्कूल थिएन । विजुली थिएन । भए पनि कम्ति थियो, अपुग थियो । उनीहरूलाई आफ्ना भाग्य विधातासँग अनेक मागहरू राख्न सिकाइएको थियो । नेता नहुँदा देउतालाई उनीहरू भाग्य विधाता सम्झन्थे, नेता जन्मेपछि नेतालाई नै भाग्य विधाता सम्झन थाले । आफू समक्ष माग राखिएपछि नेताहरू साह्रै खुशी हुन्थे । आफूलाई देउता नै ठान्थे र जनताले जति माग गर्थे त्यसमा कैयौं गुना थपेर उनीहरू जनतालाई ‘तथास्तु’ भनिदिन्थे ।

cropped-21369473_510326802645587_6163948978394415125_n1.jpg

 

शुरुशुरुमा त्यहाँका जनताले कसैसँग केही माग्न जानेका थिएनन् । आफ्नै मेलोमेसो गर्थे, हलो कोदालो गर्थे, खर्क र बेसी गर्थे । मिहिनेत गर्थे, खान्थे । नेताहरूले नै आफैंसँग उनीहरूलाई माग राख्न उक्साएका हुन् । जनताका मागहरू सारै सामान्य खालका साना साना हुन्थे । उनीहरू बिचार गर्थे पूरा हुनेसम्मका माग राख्नुपर्छ, पूरा नहुने सपना देख्नुहुन्न । तर नेताहरू एक पछि अर्को उनीहरूका घर आँगनमा आउँथे र जनताले देखेका सपनाभन्दा सय गुना ठूला सपना देख्न लगाउँथे ।

जनताहरू बिहान बेलुकाको छाक ढिँडो, गुन्द्रक, आँटो पिठो जेले भए पनि टार्ने सपना देख्थे र नेताहरू समक्ष त्यसका लागि भरथेगको माग राख्थे । नेताहरू दाल, तरकारी, अचार, गाईको दूधसँग मसिना चामलको भात खुवाउने कुरा गर्थे । हप्ताको एकदुई छाक माछामासु र फलफूल पनि खान पाउने व्यवस्था गरिदिने वचन दिन्थे । प्रत्येक जनतासँग एउटा घर, खेति, चरन र लैनो गाई हुनेछ भनेर घोषणा गरिदिन्थे ।

जनताहरूले गाउँमा एउटा प्राथमिक स्कूलको सपना देखे । नेताहरू आएर तिमीहरूलाई नाथे प्राइमरी स्कूलले कहाँ पुग्छ, विश्वविद्यालय नै चाहिन्छ भन्दै विश्वविद्यालय ल्याउने निर्णय गरेर सही गरिदिए । जनताहरू स्वास्थ कार्यकर्ता सम्म भएको एउटा स्वास्थ्य चौकी भए हुन्थ्यो भनेर कुरा उठाउँथे, नेताहरू डाक्टरहरूले भरिएको कुन्नि कति शैयाको ठूलै अस्पताल ल्याइदिन राजधानीतिर लाग्थे ।

जनताहरूको गाउँमा बाटोको साह्रै समस्या थियो । कति भरियाहरू, कति गोठालाहरू, कति घाँसीहरू, कति स्कूले केटाकटीहरू बाटो हिँड्दा कतिपटक भिरको ढुङ्गामा ठोक्किएर खोँचमा खसेका थिए । त्यो ढुङ्गो फुटाएर टाउको नठोक्किने बनाइमाग्न उनीहरूले नेतालाई गुहारे । नेताहरू आएर त्यो भिरमा ढुङ्गो फुटाउने होइन, सडक खन्ने र कालोपत्रे समेत गर्ने कटिवद्धता प्रकट गरेर गए । अरु धेरैजना भिरबाट लडेपछि अर्कोपल्ट कुरा उठाउँदा त्यो भिरमा सुरुङ मार्ग नै बनाउने टुङ्गो लगाएर नेताहरू शहर पसे र उतै बसे । जनताको गाउँमा केटाकेटीका लागि खेल्ने चौरको दर्कार थियो । गाउँलेले श्रम लगाएर चौर खन्ने निर्णय गरेको थाहा पाउनासाथ नेताहरूले त्यो ठाउँमा खेल्ने चौर होइन हावाइजहाज बस्ने एयरपोर्ट नै बनाउने घोषणा गरे ।

खानेपानीको झन् कुरै भएन, दुई घण्टा लगाएर कुवामा पुगिन्थ्यो । जनताले त्यो कुराको समाधानका लागि डाकेको वैठकमा एकाएक प्रवेश गरेर नेताहरूले गाउँमा खानेपानी मात्रै होइन, घरघरमा माछा पाल्न समेत पुग्ने गरी पानी ल्याउने कसम आए । डाँडापारीको खोलाबाट टनेल खनेर कुन्नि कति मेगावाटको विद्युत उत्पादन केन्द्र बनाउने र सिँचाइ समेतलाई पुग्ने पानी ल्याएर त्यो गाउँलाई नमूना गाउँको रुपमा विकास गर्ने गरी जनताले आशै नगरेका माग समेत पूरा गरिदिए नेताहरूले ।

जनताले देशमा विकास खोजे, नेताले हिंसात्मक क्रान्ति नै उपलव्ध गराए । जनताले क्रान्ति पुग्यो अब शान्ति र सुरक्षा भए पुग्छ, भने, नेताले कहाँ पुग्नु तिमीहरूलाई त सम्विधानसभा पो चाहिन्छ त भने । जनताले लौ ठिकै छ, तर सानो आकारको सम्विधानसभा भए हामीलाई पुग्छ भने, नेताले सानोले कहाँ पुग्छ, कम्तिमा छ सय एकजनाको सम्विधानसभा चाहिन्छ भन्दै जनताले मागेको भन्दा कैयौं गुना ठूलो आकारको सम्विधानसभा दिएर नेताहरूले चमत्कारै गरे । जनताले दुई वर्षमा बनाएको सम्विधान हामीलाई पर्याप्त हुन्छ भने । नेताहरूले भने, दुई वर्षमा बनाएको सम्विधानले तिमीहरूका अधिकार रक्षा गर्न सक्तैन, तीन चार वर्ष लगाएर बनाइदिन्छौँ । यसरी नेताहरूले जनताको मागभन्दा धेरै गुणा बढी पूर्ति गर्दै गए, गर्दै गए । जनताले सम्विधानसभा पुग्यो अब अरु नै कुनै उपाय गर्नुहोस् भनेर नेतालाई भने । नेताले भने, त्यसरी कहाँ हुन्छ, दोश्रो पटक निर्वाचन गरेर भए पनि हामी सम्विधानसभाबाटै सम्विधान बनाएर तिमीहरूलाई केही दशकमै संसारकै धनी जनता बनाउँछौं । उनीहरूले फेरि दोश्रो सम्धिानसभाको निर्वाचनमा जनतालाई हुले ।

त्यसैबेला फेरी त्यो देशमा ठुलो भुईचालो पनि गयो । जनताहरु बढो सकसमा आफ्ना लालाबालालाई कसरी यो बर्खा बाट जोगाउने भन्दै गुहार माग्न थाले । अब जनताहरुको उपकार गर्नुपर्छ भन्ने ध्येयले नेताहरुले सरकार र संसदमा

लामो बहस गरेर एउटा पुनर्निमाण आयोग गठन गरे । जनताहरु पनि आफ्नो भत्किएको ढुंगाको घर महल हुने आशमा रहन थाले ।

दिन बित्दै जाँदा नेताहरु र त्यो देशका सक्षम कर्मचारीहरुको ठुलो कसरत पश्चात त्यहाँका जनताले अलिकति पैसा पाएँ। र फेरी अर्को आशामा रहन थाले। त्यति बितिरहदा त्यहाँका नेताहरुले स्थानिय चुनाव गरेर राजधानी नै गाँउ गाँउमा पुर्याए। जनताले कुनै राज्यकर्मको लागी आफ्नो गाँउको सिमा ननाघग्नु पर्ने भयो ।

त्यतिले मात्र जनताको अधिकार प्रत्त्याभुत हुन नसक्ला भनेर त्यो देशका नेताहरुले प्रदेश बनाएर देशलाई सघिंय ढाँचामा लग्ने भनेर चुनाव गरे । त्यो बेला नेताहरुले सार्है कष्ट ब्यहोरे ।

लामो अनुसन्धान पछि पत्ता लाग्यो कि त्यो देशमा विकास नहुनु र जनताले झन् झन् दुःख पाइरहनुको खास कारण नेताको मन साह्रै ठूलो र जनताको मन साह्रै सानो भएर रहेछ । जनताको बुद्धि नपुगेर तिनीहरूले दुःख पाएका रहेछन् । जनता थोरै थोरै माग्ने, नेता घ्याप्घ्यापी दिने । यो माग र आपूर्तिको असन्तुलनले गर्दा देश अगाडि नबढेको रहेछ ।

ती महान् र दयालु नेताहरू र साह्रै छोटो मन भएका मूर्ख जनताहरू भएको देश अरु कुन हुन्थ्यो ! हाम्रै देश नेपाल थियो अरे ।

4 thoughts on “एकादेशको कथा

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s