बलात्कार गर्न खोज्ने एक इरानी गुप्तचर अधिकारीलाई सन् २००९ मा छुरी प्रहार गरी हत्या गरेको अभियोगमा अदालतले इरानी  इन्टरियर डिजाइनर २६ वर्षीया रेहाने जब्बारीलाई फाँसीको सजाँय सुनायो । उनलार्इ शनिबार मृत्युदण्ड दिइएको छ. फाँसीको तख्तामा जानुअघि रेहानेले आमा सोलेह पक्राभनलाई लेखेको यो चिठी अहिले विश्वमा चर्चित बनेको छ:

Reyhaneh-Jabbari

प्यारी ममतामयी आमा,
मैले कठोर दण्ड पाउने कुरा मैले आजै थाहा पाएँ । म आफ्नो जीवनरूपी किताबको अन्तिम पानामा आइपुगेकी छु भन्ने कुरा तपार्इं स्वयंले मलाई नबताउँदा मेरो मन किञ्चित कुँडिएको छ । यो कुरा मैले थाहा पाउनुपर्छ भन्ने तपाईंले किन सोच्नुभएन ? यो सब कुराले तपाईंलाई भित्रैदेखि मर्माहत बनाएको छ भन्ने मलाई थाहा छ र यसले मलाई लज्जित तुल्याएको छ । तपाईंको र बुबाको हात एकपटक चुम्ने मौकाबाट मलाई किन वञ्चित राख्नुभयो आमा ?

यो संसारले मलाई १९ वर्षसम्म बाँच्ने मौका दियो । त्यो अपशकुन रातमै मेरो हत्या भएको भए कति वेश हुने थियो होला ? यदि मैले चिताएजस्तै भएको भए सहरको एउटा गल्लीमा मेरो लास फालिएको हुने थियो । मेरो लास पहिचान गराउन प्रहरीले तपाईंलाई त्यही गल्लीमा लिएर जान्थ्यो । त्यहाँ पुगेपछि तपाईंले थाहा पाउनुहुने थियो कि, तपाईंकी प्यारी छोरीको हत्या मात्र होइन, बलात्कार पनि भएको रहेछ ।

मेरो हत्या गर्नेहरूसँग जस्तै हामीसँग सम्पत्ति र सामथ्र्य दुवै छैन । त्यसैले मेरा हत्याराहरू कहिल्यै पक्राउ पर्ने थिएनन् । त्यसपछिका तपाईंका दिनहरू असिम पीडा र लज्जामा बित्ने थिए । यही पीडाले केही वर्षपछि तपाईंको प्राणपखेरु पनि उडाउने थियो ।

तर खै, कस्तो श्रापले गर्दा हो कुन्नि, कथा अप्रिय ढंगले पूरै बदलियो । मेरो शरीर कुनै गल्लीमा मिल्किएन । सहरको कुनै गल्लीमा मिल्काइनुको सट्टा मेरो शरीर इभिन जेलरूपी यो चिहानको सुनसान कालकोठरीमा मिल्काइएको छ । र, अहिले चिहानजस्तै साहर–ए–रे जेलमा मेरो शरीरलाई राखिएको छ । आमा, यो सबै नियतिको खेल हो भन्ने सम्झिएर चित्त बुझाउनुहोला, र कुनै प्रकारको दु:ख–मनाउ नगर्नुहोला । मृत्यु जीवनको अन्त्य होइन भन्ने कुरा तपाईंलाई राम्रोसँग थाहा छँदै छ नि, हैन र ?

तपाईंले मलाई भन्नुभएको थियो, मानिस यो संसारमा अनुभव बटुल्न र शिक्षा हासिल गर्न आउँछ । हरेक जन्ममा मानिसको काँधमा केही न केही जिम्मेवारी भिराइएको हुन्छ । यो जन्ममा मैले एउटा कुरा सिकें कुनै न कुनै वेला मानिसले पौँठेजोरी खेल्नुपर्दो रहेछ । मलाई मारपिट गर्ने व्यक्तिको विरोध गर्दा एक मानिसले ती व्यक्तिबाट मुखै–मुखमा, टाउकै–टाउकोमा चाबुक खानुपर्‍यो । उनीमाथि चाबुकको वर्षा भयो र यसैले गर्दा उनको प्राणपखेरु उड्यो । त्यसबखत तपाईंले मलाई भन्नुभएको थियो, छोरी, मर्नुपरे पनि मानिसले आफ्नो मूल्यको रक्षा गर्नुपर्छ ।

तर, तपाईंले हासिल गर्नुभएको अनुभवसिद्ध ज्ञान सत्य रहेनछ । जब ममाथि यो घटना घट्यो, तपाईंले मलाई दिनुभएको जीवनका मूल्यसम्बन्धी ज्ञान सबै बेकार साबित भए । तपाईंले भनेबमोजिम गर्दा मलाई नृशंस हत्यारा र निर्मम अपराधीका रूपमा अदालतमा उपस्थित गराइयो । त्यतिवेला मेरो आँसु खसेन । मैले कसैसँग जीवनरक्षाका निम्ति हात फिजाइनँ । मलाई कानुनप्रति विश्वास थियो । त्यसैले विरोधमा म केही बोलिनँ ।

आमा,
म कस्तो कमलो मन भएकी छोरी हुँ भन्ने तपाईंलाई राम्रोसँग थाहा छ । मैले कहिल्यै एउटा लामखुट्टे पनि मारिनँ । घरमा कुनै साङ्लो फेला पर्‍यो भने त्यसको जुँगामा समातेर म बाहिरतिर मिल्काइदिने गर्थेँ, मार्दिनथेँ । तर, आज मलाई नियोजित हत्यारा बनाइयो । जनावरप्रतिको मेरो व्यवहारलाई छोरोमान्छे जस्तो बन्न खोज्ने मेरो अभिलाषाका रूपमा अथ्र्याइयो । तर, यो घटना घट्दाखेरि मेरो हातका लामा, पालिस लगाएर चिटिक्क पारेका नङप्रति न्यायाधीश महोदयको ध्यानै गएन ।

न्यायाधीश महोदयबाट न्यायको अपेक्षा गर्नेहरू कति आशावादी हुँदा हुन् कठै ? मेरो हात खेलाडीको जस्तो, अझ भन्नुपर्दा बक्सरको जस्तो जब्बर र खस्रो खालको छैन भन्ने तथ्यबारे न्यायाधीश महोदयबाट कुनै प्रश्न भएन । र, यो राष्ट्र, जसप्रति माया गर्नुपर्छ भन्ने भाव तपाईंले ममा जगाइदिनुभयो, यसले पनि मलाई कहिल्यै चाहेन । सोधपुछकर्ताको एकपछि अर्को प्रश्नको प्रहार सहन नसकेर मैले आँसु झारिरहँदा कोही पनि मेरो समर्थनमा आएनन् । मेरो सौन्दर्यको अन्तिम निशानीका रूपमा रहेको कपाल खौरिएपछि मेरो हातमा ११ दिन लामो कालकोठरीवासको उपहार थमाइयो ।

यो सबै सुनेर नरुनुहोला आमा । प्रहरी कार्यालयमा पुगेको पहिलो दिन नै एकजना अविवाहित प्रहरीले मैले पालेका लामा नङका निम्ति मलाई दिनु दु:ख दिएका थिए । त्यसपछि मैले बुझेँ, यो युगमा सौन्दर्यताको पारख गरिँदैन रहेछ । सुन्दर हेराइ, सुन्दर विचार, सुन्दर कामना, सुन्दर हस्तलिखित अक्षर, सुन्दर आँखा, सुन्दर दृष्टिकोण र सुन्दर आवाजको यो युगमा कुनै कदर हुँदैन रहेछ ।

अहिले मेरो जीवनदर्शन बदलिएको छ । तर, यसका लागि तपाईं जिम्मेवार हुनुहुन्न । मेरा शब्दहरूको कुनै अन्त्य छैन । यी शब्दहरू मैले कसैलाई लेखेर दिएकी छु । जब तपाईंलाई उपस्थित नगराईकन र जानकारी नदिईकन मलाई फाँसी दिइन्छ, त्यतिवेला तपाईंले यो पत्र पाउनुहुनेछ । आफ्नो नासोका रूपमा मैले तपाईंका निम्ति हातले लेखेका यी अक्षरहरू छोडेर गएकी छु ।

मर्नुभन्दा अघि म तपाईंबाट केही चाहन्छु । मैले इच्छाएको कुरा पूरा गर्न तपाईंले दिलोज्यान लगाउनुहोस् भन्ने मेरो चाहना छ । वास्तवमा भन्ने हो भने यो संसार, यो देशबाट र तपाईंबाट मैले चाहेको यो नै एक मात्र कुरा हो ।

बिन्ती, नरोईकन मैले भनेको सुन्नुहोस् । अदालत पुगेर मेरो तर्फबाट एउटा आग्रह गरिदिनुहोस् । किनकि, म जेलका यी चार पर्खालभित्रबाट त्यस्तो आग्रह गरिएको चिठी पठाउन सक्दिनँ । किनकि, हरेक चिठी जेलप्रमुखबाट अनुमोदन गराउनुपर्ने हुन्छ । जेलको यस्तो नियमले गर्दा तपाईंले मेरो कारण पुन: एकपटक असिम मर्मान्तकारी क्षण बेहोर्नुपर्ने भएको छ । मैले खोजेको कुरा मेरा निम्ति मागिदिनुभयो भने म किञ्चित दु:खी हुनेछैन । मलाई फाँसीबाट जोगाउने याचनाचाहिँ कहिल्यै नगर्नुहोस् भनेर मैले यसअघि नै तपाईंलाई पटक–पटक भनिसकेकी छु ।

मैले आफ्नै जीवनभन्दा पनि बढी माया गरेकी मेरी प्यारी आमा,
म माटोमुनि पुरिएर कुहिन चाहन्नँ । म मेरा आँखा र मेरो स्वस्थ जवान मुटु माटोमा बिलीन होस् भन्ने चाहन्नँ । त्यसैले मेरा लागि एउटा भिख मागिदिनुहोस् । मलाई फाँसीको तख्तामा झुन्ड्याउनासाथ मेरो मुटु, मेरा मृगैला, मेरा आँखा, हड्डी र प्रत्यारोपण गर्न मिल्नेजति सबै अंगहरू मेरो शरीरबाट निकालियोस् र आवश्यक भएका व्यक्तिलाई ती अंग मेरो अन्तिम उपहारका रूपमा दिइयोस् । अंग पाउने व्यक्तिले मेरो नाम थाहा भने नपाओस् । उसले मेरा लागि पुष्पगुच्छा अर्पण गरोस् अथवा मेरा लागि खुदासँग प्रार्थना गरोस् भन्ने म चाहन्नँ ।

यो कुरा म अन्तरहृदयदेखि भनिरहेकी छु । मेरो कुनै चिहान बनोस् भन्ने चाहना पनि म राख्दिनँ, किनकि मेरो चिहानमा पुगेर निरन्तर शोक गर्ने र पीडा प्राप्त गर्ने अवसर तपाईंलाई प्राप्त भएको अवस्था म निम्त्याउन चाहन्नँ । मेरा लागि तपाईंले शोक जनाउने खालको कालो लुगा लगाउनुहोस् भन्ने पनि म चाहन्नँ । मेरा दु:खका दिन बिर्सिने हरसम्भव चेष्टा गर्नुहोस् । मलाई यो पवनको जिम्मामा छोडिदिनुहोस्, ताकि यसले मलाई निर्वाध रूपमा उडाएर पर–पर अनन्तमा पुर्‍याउन सकोस् ।

यो संसारले हामीलाई माया गरेन । मेरो भाग्यको मूल्यप्रति यो संसारले कुनै इच्छा देखाएन । अब म यी सबैबाट मुक्त भएर मृत्युलाई अँगाल्दै छु ।

तर, खुदाको अदालतमा फेरि मुद्दा चल्नेछ आमा । त्यहाँ म निरीक्षकविरुद्ध मुद्दा हाल्नेछु, न्यायाधीश महोदयविरुद्ध मुद्दा हाल्नेछु, यो देशका सर्वोच्च अदालतका न्यायाधीशहरू सबैविरुद्ध मुद्दा हाल्नेछु ।

सृष्टिकर्ताको अदालतमा म ती सबैविरुद्ध मुद्दा हाल्नेछु, जसले अज्ञानता अथवा झुटको वशमा परेर देखिएको सत्य कहिलेकाहीँ वास्तविक सत्यभन्दा भिन्न पनि हुन सक्छ भन्ने तथ्यतर्फ निर्ममतापूर्वक आफ्ना आँखा चिम्लिए ।

कोमल हृदय भएकी प्यारी आमा,
परलोकमा आरोप लगाउनेहरूको आसनमा हामी हुनेछौँ र आरोपित व्यक्ति उभिने कठघरामा अरूहरू हुनेछन् । हेरौँ, भगवान् के चाहँदा रहेछन् । म तपाईंलाई नमरुञ्जेलसम्म अँगालोमा कसिरहन चाहन्छु ।

तपाईंलाई माया गर्ने रेहाने
१ अप्रिल २०१४

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

w

Connecting to %s