दार्शनिक बेर्टोल्ड रसेल भन्थे ‘मानिसका मस्तिष्कमा उत्पन्न हुने सबै रोचक जिज्ञासाहरुको उत्तर विज्ञानले दिन सक्दैन । त्यसको उत्तर धर्मग्रन्थहरुले दिन खोज्छन् । तर, त्यो ठीक छ भन्न सकिन्न । विज्ञान र धर्मग्रन्थहरुको बीचमा सायद एउटा दशजगा भूमि हुन्छ, त्यो नै दर्शनशास्त्र हो ।’

धर्म, दर्शन र विज्ञानका बीचमा ‘दशजगा भूमि’ हुन्छ । यिनीहरु बीच कुनै सम्बन्ध नै नहुने चाहिँ हैन । धर्मशास्त्रले आस्था, विश्वासमा वर्ता जोड दिन्छ र अन्धतामा पुग्ने खतरा हुन्छ । विज्ञानले भौतिक प्रयोगलाई वर्ता महत्व दिन्छ र यो यान्त्रिकतामा पुग्ने खतरा हुन्छ ।

धर्मग्रन्थमा निहित अन्धता र विज्ञानमा निहित तकनिकीको सीमा नाघ्न सक्ने शास्त्रलाई नै दर्शनशास्त्र भनिन्छ । यसरी धर्म र विज्ञान दुबै दर्शनका विषय पनि हुन्छन् । हामी धर्मको बहस गरिरहँदा शुद्ध रुपमा धर्मको मात्र बहस गरिहेका हुन्नौं । धर्म सँगसँगै दर्शनको पनि बहस गरिरहेका हुन्छौं । दार्शनिक परम्पराको पनि बहस गरिरहेका हुन्छौं । तसर्थ धर्म रुढीवाद वा अन्धविश्वास मात्र हैन, दार्शनिक परम्पराको अध्ययन गर्ने स्रोत पनि हो ।

धर्मका प्रकार

समकालीन विश्वको धार्मिक संरचनालाई हेर्दा करिब ३३ प्रतिशत इसाइ, २३ प्रतिशत मुस्लिम, १६ प्रतिशत हिन्दू, ७ प्रतिशत बौद्ध र २ प्रतिशत यहुदीहरु छन् । त्यसबाहेकका मुख्य धर्म दर्शनहरु प्राचीन चिनियाँ मतहरु, कन्फुसियसवाद, ग्रिसेली प्लेटोनिज्म, नास्तिक र बहाई धर्मावलम्बी हुन् ।
उत्पत्तिका हिसाबले संसारका अहिलेका प्रमुख धर्महरु दुई प्रकारका मात्र छन् । पहिलो- दक्षिण एशियाली मौलिकता भएका धर्महरु, दोस्रो-मध्य एशियाली मौलिकता भएका धर्महरु, युरोप अमेरिकामा कुनै धर्मको जन्म भएको छैन । त्यहाँ त मध्यएशियाली मौलिकता भएका धर्महरुको विस्तार मात्र भएको छ ।

दक्षिण एशियाभन्दा मध्य एशिया युरोपको नजिक छ । त्यही भएर अरब, युरोप, अफि्रका र अमेरिकी महादेशमा यहुदी, इसाइ र इस्लामको प्रभाव बढी छ । हिन्दू, बौद्ध, जैन, सिख र किराँत दक्षिणएशियाली धर्म हुन् । त्यही भएर यिनीहरुको प्रभाव दक्षिण र पूर्वी एशिया मंगोल क्षेत्रमा बढी छ ।

नेपालमा पशुपति, लुम्बिनी र लारुम्बा नै हुन्छन् । ‘मक्कामदिना’, ‘जेरुसेलम’ र ‘भ्याक्टिकन सिटी’ बन्न सक्दैनन् । बने पनि ती कृत्रिम हुन्छन्

जुन ठाउँबाट जुन धर्मको जन्म हुन्छ, त्यसका तीर्थस्थलहरु त्यही ठाउँमा बढी हुनु स्वभाविक हुन्छ । त्यो देशको इतिहास, पुरातत्व, वास्तुकला र सँस्कृति तिनै धर्मसंग जोडिन्छन् । ज्ञानविज्ञान र दार्शनिक परम्परा पनि तिनैसँग जोडिन्छन् । हिन्दूत्वसँग ऋगवेद र मनुस्मृति मात्र हैन, आर्युर्वेद, योग र ध्यान पनि धर्मअंगजस्तै भएर जोडिएबाट त्यो पुष्टि हुन्छ ।

नेपालमा पशुपति, लुम्बिनी र लारुम्बा नै हुन्छन् । ‘मक्कामदिना’, ‘जेरुसेलम’ र ‘भ्याक्टिकन सिटी’ बन्न सक्दैनन् । बने पनि ती कृत्रिम हुन्छन् ।

धर्म र राजनीतिः
धर्म र राजनीति बिल्कुलै फरक-फरक कुरा हुन्, यिनले एकअर्कालाई प्रभावित गर्दैनन् भनेर कसैले बुझेको छ भने त्यो एकदमै गलत कुरा बुझेको छ । रामायण वा महाभारत राजनीतिक ग्रन्थ हुन् कि धर्मग्रन्थ भनेर बहस गर्न थाल्ने हो भने त्यसको अन्त्य सजिलो हुने छैन ।

जिसस क्राइष्टलाई तत्कालीन रोम साम्राज्यका गर्भनर प्लोटियस पिलाटले निर्ममतापूर्वक क्रसमा टाँगेर मारेका थिए । त्यो धर्म थियो कि राजनीति थियो भनेर बहस गर्ने हो भने निक्कै ठूलो असजिलो सिर्जना हुनेछ ।

मुस्लिम मतको स्थापनार्थ पैगम्बर मोहम्मदले निर्माण गरेका सेना र व्यूहरचना धर्म थियो कि राजनीति भन्ने प्रश्नको उत्तर दिन कसैलाई पनि सजिलो हुने छैन ।

हामी जे कुरालाई आज धर्म भन्दैछौं, त्यो त्यतिखेरको राजनीति नै हो । आज जेलाई राजनीति भन्दैछौं त्यो पनि कुनै दिन धर्म हुनेछ । हिजोको राजनीतिले आज पुग्दैन र हुँदैन भनेर हामीले नयाँ राजनीति गरेका हौं, तसर्थ पुरानो राजनीतिलाई धर्मको नाम दिएर आजको राजनीतिबाट फरक गर्न खोजेका मात्र हौं ।

धार्मिक समुदायको जन्म हुन त्यति गाह्रो छैन । कुनै विचार, मत वा जीवनशैलीलाई जब आस्थामा रुपमा ग्रहण गरिन्छ, त्यो धर्म भइहाल्छ । हामीले हेर्दाहेर्दै रजनीशको ‘नवसन्यास अभियान’ एउटा नयाँ धर्मको रुपमा विकास भइरहेको छ । चीनमा कन्फुसियसको चिन्तन र गि्रसेली समाजमा प्लेटोनिज्मलाई धर्म मान्ने सम्प्रदाय अहिले पनि छ ।

अहिले बढो ठूलो दार्शनिक मत मानिएको माक्र्सवादले कुनै त्यस्तै रुप लिन सक्छ ।

अमेरिकालाई जितेर चीन भरखरै विश्वको पहिलो आर्थिक शक्ति हुनु सायद त्यही इतिहासको चक्रको नियति हो । चीनपछि फेरि भारत वर्षको पालो आउनेछ

इतिहासको चक्र
विख्यात जर्मन दार्शनिक फ्रेडरिख विल्हेम हिगेलको प्रवचन श्रृंखलालाई संग्रह गरिएको एउटा पुस्तकको नाम हो ‘फिलोसोफी अफ हिस्ट्री’ अर्थात् ‘इतिहासको दर्शनशास्त्र’ । यस किताबमा उनले सूर्य, मान्छे र इतिहासको जीवन उस्तै हुन्छ भनेका छन् । सूर्यको पहिलो किरण जहाँ पर्छ, त्यहीँ पहिलो मान्छे जन्मिन्छ, त्यहीँ इतिहासको शिशुकाल प्रारम्भ हुन्छ । हिगेलको विचारमा सूर्यको पहिलो झुल्को पर्ने ठाउँ मंगोलिया हो । स्वभाविक छ, सूर्य पूर्वबाट झुल्किन्छ । मंगोलिया क्षेत्र पृथ्वीको सर्वाधिक पूर्वी क्षेत्र हो । तसर्थ चिनियाँ सभ्यता नै इतिहासको शिशुकाल हो ।

मंगोलियाबाट हिँडेको सूर्य आइपुग्ने दोस्रो ठाउँ दक्षिण एशिया हो । तसर्थ भारत वर्षको सभ्यता र सँस्कृति इतिहासको वाल्यकाल हो । त्यसपछि मात्र सूर्य मध्यएशिया पुग्छल जहाँ पुगेर इतिहास किशोर हुन्छ र ग्रिसमा पुगेर इतिहास वयस्क हुन्छ । युरोपमा पुग्दा सूर्य र इतिहास दुबै अधबैंशे भइसकेका हुन्छन् । अमेरिका पुग्दा त्यो बुढो हुन्छ ।

अमेरिकालाई जितेर चीन भरखरै विश्वको पहिलो आर्थिक शक्ति हुनु सायद त्यही इतिहासको चक्रको नियति हो । चीनपछि फेरि भारत वर्षको पालो आउनेछ । अमेरिकामा बुढो भएर अस्ताएको घाम फेरि चीनमा झुल्किँदैछ । त्यो विस्तारै दक्षिण एशियातिर आउनैपर्छ ।

हिन्दूत्वका कुनै नराम्रा कुरा छैनन् भन्ने हैन । शक्तिपूजक संस्कृति र हिंसा/बली (शाक्त परम्परा), मनुवाद आश्रति वर्णाश्रम दक्षिण एशियाली धर्म संस्कृतिका सबैभन्दा खराब पक्ष हुन्

हिन्दुत्व

हामीले त्यति ध्यान नदिएको एउटा पक्ष छ, त्यो के भने हिन्दूधर्म वा हिन्दूत्व भनेको अब्राहमबाट यहुदी बनेजस्तो, जिसस क्राइष्टबाट इसाई धर्म चलेजस्तो, पैगम्बर महम्मदको सन्देशले इस्लाम जन्मिएजस्तो, गुरु नानकले सिख सम्प्रदाय चलाएजस्तो, राजकुमार सिद्धार्थको वैचारिक अभियानबाट बौद्धधर्म बनेजस्तो वा राजकुमार महावीरले जैन धर्मको पुनरुत्थान गरेजस्तो कुनै व्यक्तिबाट बनेको वैचारिक मत हैन ।

हिगेलको विश्लेषणमा विश्वास गर्ने हो भने चिनियाँ मतहरु धार्मिक मतमा विकास हुन सकेनन्, जो हिन्दूत्वभन्दा पुराना थिए । त्यसपछि हिन्दूत्व मानव सभ्यताको सबैभन्दा प्राचीन परम्पराहरुको निरन्तरता मात्र हो । कैलाश, गंगा र इन्दसको भूक्षेत्रमा बनेका सबै इतिहास, परम्परा, संस्कृति, ज्ञान, विज्ञान, दर्शन र सम्पदाहरु हिन्दूत्व हुन् । त्यही भएर हिन्दूहरुले कहिल्यै बौद्ध, जैन, सिख, किरातलाई आफूभन्दा बाहिरका धर्म ठान्दैनन् । ठानेनन् । त्यही भएर किरात धर्मका प्रथम पुरुष पारुहाङ हिन्दूहरुका आदि देवता शिव, किरातेश्वर वा पशुपतिनाथ हुन्छन् । बुद्धलाई हिन्दूहरुले विष्णुकै अवतारमध्ये एक मान्छन् ।

यसो भनेर हिन्दूत्वका कुनै नराम्रा कुरा छैनन् भन्ने हैन । शक्तिपूजक संस्कृति र हिंसा/बली (शाक्त परम्परा), मनुवाद आश्रति वर्णाश्रम दक्षिण एशियाली धर्म संस्कृतिका सबैभन्दा खराब पक्ष हुन् । रजनीशले भनेका थिए ‘म अहिंसावादी हुँ, मेरो कर्मबाट कमिला पनि नमरोस् भन्ने चाहन्छु, तर मनुलाई भेट्ने हो भने म हिंसावादी हुन्थे र उसलाई गोली हानीदिन्थे । किनकि मनुको चिन्तन खरबमध्येको पनि उत्कृष्ट खराब हो, त्यो हिंसा गर्न योग्य छ ।’ यी खराबी साना हैनन् ।

तर, हिदुत्वका आफै सवलताहरु पनि छन् । हिदुत्वमा लोकतन्त्रमा असाध्यै धेरै गुणहरु छन् । यहाँ रामलाई ‘पत्नीपीडक’ वा कृष्णलाई ‘रन्डो’ भने वापत कसैका विरुद्ध ‘फतवा’ जारी हुँदैन । यहाँ जे लेखे पनि, जस्तो लेखे पनि कसैले सलमान रुस्दी र तसलिमा नसरीन बन्नुपर्दैन । यहाँ कुनै ब्रुनोको जिब्रो पनि काटिँदैन ।

अझ आश्चर्य त के छ भने हिन्दुत्वमा देवता मान्छे भएर जन्मिन्छ र कर्मले देवता हुन्छ । राम अयोध्या राजकुमार हुन् जो मान्छे भएर जन्मिए र देवता भए । कृष्ण देवकी र बासुदेवका सन्तान हुन्, मान्छे भएर जन्मिएर देवता भए । सिद्धान्त गौतम मान्छे जन्मिएर बुद्धरुपमा देवता भए । भरखरै रजनीश मान्छे भएर जन्मिए र ओशोका रुपमा देवता भए ।

हिन्दुत्वमा हरेक मान्छेलाई देवता हुने स्वतन्त्रता छ । त्यही भएर हिन्दुहरुका देवता पनि धेरै हुन्छन् । अरु धर्ममा मान्छेलाई कर्मद्वारा संस्कारित भएर देवता बन्ने अधिकार छैन । त्यही भएर उनीहरुका देवता पनि थोरै हुन्छन् । हिन्दुत्वमा त्यो अधिकार छ र यो सर्वोत्तम लोकतान्त्रिक अधिकार हो ।

मार्क्र्सका कम्युनझैं अगस्टाइनका चर्चहरु प्रारम्भमा सामुहिक स्वामित्वको अभ्यास गर्ने थलोहरु थिए

क्रिश्चियानिटी र कम्युनिज्म

यी दुई झटट् हेर्दा एकअर्काका विरोधीजस्तो लाग्छन् । तर, दुबै अधबैंशे युरोपेली समाजका उपज हुन् । कसैले आश्चर्य नमान्दा हुन्छ कि इसाइ र साम्यवादी चिन्तनको तत्वमिमांसा (अन्टोलजी) एउटै हो ।

यहुदी चर्चहरुको विरोध गरेर इसाइ चर्चहरुको स्थापना गर्दा सेन्ट प्लोटिनस र अगस्टाइनले गरेका तर्कहरु कार्ल मार्क्र्स र फ्रेडरिख एंगेल्सले ‘न्याय संघ’ लाई प्रतिस्थापित गरेर ‘कम्युनिष्ट लिग’ बनाउँदाका तर्कहरुसंग मिल्दाजुल्दा थिए । यी सबैले निजी सम्पतिको विरोध गरेका थिए । मार्क्र्सका कम्युनझैं अगस्टाइनका चर्चहरु प्रारम्भमा सामुहिक स्वामित्वको अभ्यास गर्ने थलोहरु थिए । त्यही भएर चर्चहरुमा धन, शक्ति, प्रशासन र राज्यकेन्दि्रत हुँदै गयो । जब चर्चहरु भ्रष्ट हुन थाले यो पुष्टि भयो कि सामुहिक स्वामित्वले अन्ततः भ्रष्टता र लम्पटपन मात्र जन्माउँछ, फेरि त्यही चर्च र राज्यलाई फरक गर्ने आन्दोलन ‘सेक्युलारिज्म’ जन्मियो ।

इसाइहरुको मोक्ष शास्त्र (एस्काटोलजी) लाई मार्क्र्सले समाजशास्त्रीय रुप प्रदान गरे, भलै कि मार्क्र्स यहुदीका सन्तान थिए । त्यसो त जिसस क्राइष्ट स्वयं यहुदी थिए भन्ने कुरा पनि उत्तिकै सत्य हो ।

इसाइ चिन्तनमा मानिसको जन्म पापको परिणाम हो । पापबाट मुक्ति पाउन मान्छे चर्चको शरणमा जानुपर्छ । चर्चमा पादरीहरुले पापीहरुलाई पवित्रीकरण (बापटिज्म) गर्दछन् । त्यसपछि उनीहरुको प्रेम इशुसँग कायम हुनेछ र उनीहरु स्वर्ग जानेछन् ।

मार्क्र्सवादी मोक्षशास्त्रमा मान्छेको गरिबी र सर्वहाराकरण शोषणको परिणाम हो । त्यसबाट मुक्ति पाउन सर्वहाराहरु कम्युनिष्ट पार्टीमा जानुपर्छ । त्यहाँ भेन्गार्ड लिडरहरु हुन्छन् । उनीहरुले सर्वहारा वर्गलाई सवलीकरण गर्दिन्छन् । अन्ततः उनीहरुले मोक्षका रुपमा साम्यवाद प्राप्त गर्नेछन् ।
यी दुबै चिन्तनमा व्यक्तिको सार्वभौम र स्वतन्त्र एकाइ हुँदैन । यसैको विरोध गरेर इसाई धर्ममा प्रोटेष्टानिज्म जन्मिएको हो । धेरैपछि, जसरी मार्क्र्सवादी आन्दोलनमा धेरैपछि बहुदल मान्ने युरो कम्युनिष्ट र जबजवादीहरु जन्मिए ।

को आस्तिक ? को नास्तिक ?

यदाकदा नेपालमा यस्तो बहस पनि सुनिन्छ, कम्युनिष्ट कसरी हिन्दू हुन सक्छ, ? कम्युनिष्ट कसरी अध्यात्मिक हुन्छ ? कम्युनिष्टले कसरी वेद, पुराण र गीता पढ्न र त्यसका विचार ग्रहण गर्न सक्छ ? कम्युनिष्टले कसरी आर्युर्वेद पढ्न सक्छ ? कम्युनिष्ट कसरी ध्यान बस्न सक्छ ? कम्युनिष्टले कसरी योग गर्न सक्छ ? ऊ त मार्क्र्सवादी हो, अनिश्वरवादी हो । नास्तिक हो । उसले कसरी पुराना ज्ञान, परम्परा, धर्म र संस्कृतिको अबलम्बन गर्न सक्छ ? वस्तुतः यो सोच एक किसिमको सतही ज्ञान वा यान्त्रिक भौतिकवादी चिन्तनको उपज हो ।

नास्तिकता भनेको अनिश्वरवादी दृष्टिकोण हो । मूल्यमान्यता, संस्कृति विरोधी भनेको हैन । कुनै पनि मूल्यमान्यता र संस्कृति नभएको त मान्छे नै हुँदैन

संसारमा कुनै एउटा यस्तो मानिस भेटियोस्, जसको घरमा बच्चा जन्मिँदा कुनै खुशी नआओस् । कुनै नामाकरण संस्कार नहोस्, मृत्यु हुँदा कुनै शोकसंस्कार वा शोकउत्सव नहोस् । उसका घरमा कहिल्यै कुनै चाडपर्व नआउन् । उसले कुनै संस्कार नमानोस् । अनि पत्याउँला कि उ नास्तिक हो, ऊ खाँटी कम्युनिष्ट हो । कम्युनिष्ट मात्र हुँदा पुग्यो, अरु केही चाहिएन उसलाई भने मानौंला कि ऊ नास्तिक हो ।

नेपालका कम्युनिष्टहरु भूमिगतकालमा पार्टी विवाह गर्थे । तर, विवाहको सिम्बोल चाहिँ सिन्दुर र पोतेलाई नै बनाउँनथे । दुईचार किलो भए पनि मासु किनेर भोज खान्थे ।

कसैले आफूलाई नास्तिक हुँ भन्न सक्छ । त्यसो भन्ने अधिकार छ उसलाई । तर, मुखले नास्तिक हुँ भन्नु र साँच्चै कै नास्तिक जीवन पद्धति बिताउन सक्नु नितान्त फरक कुरा हो ।

यथार्थमा नास्तिकता भनेको अनिश्वरवादी दृष्टिकोण हो । मूल्यमान्यता, संस्कृति विरोधी भनेको हैन । कुनै पनि मूल्यमान्यता र संस्कृति नभएको त मान्छे नै हुँदैन । जब मान्छे नै हुँदैन, कम्युनिष्ट हुने कुरै आउँदैन ।

कसैको पनि जीवन कुनै एउटा विचारबाट मार्गनिर्देशित हुन्न । अनेक धारणाहरुको व्यैयक्तीरकण हुन्छ, व्यक्ति र समाजमा । मानिस एकसाथ समाजवादी र बजारवादी, पहिचानवादी र बर्गवादी हुन सक्छ । तसर्थ कम्युनिष्ट भएर पनि पूर्वीया दर्शन, मूल्य, मान्यता, सभ्यता र संस्कृतिको सम्बर्द्धनमा योगदान गर्न सकिन्छ ।

राजनीतिमा कम्युनिष्ट भएर पनि मान्छे व्यक्तिगत जीवनमा अध्यात्मिक हुन सक्छ । कर्मकाण्डको विरोध गर्ने नामका अध्यात्म र प्रज्ञानबाट विरक्त हुन सकिँदैन । आयुर्वेद (औषधि विज्ञान), योग (फिजियोथेरापी), ध्यान (मनोसाधना) आदिलाई पनि आस्तिकता ठानेर नास्तिकताको भ्रममा बाँच्नेहरुलाई दया गर्न बाहेक अरु के गर्न सकिन्छ ?

निरपेक्ष भन्दा के बुझिन्छ ?

इसाई र कम्युनिष्ट दर्शनमा भएका कतिपय समस्या हिन्दूत्व र भारत वर्षमा कहिल्यै थिएनन् । युरोपमा चर्च र राज्य एउटै भएजस्तो दक्षिण एशियामा मन्दिर र राज्य कहिल्यै एउटै थिएन । युरोपमा पादरी नै शासक भएजस्तो दक्षिण एशियामा धर्मगुरु नै शासक कहिल्यै थिएनन् ।
दक्षिण एशियामा हरेक राजाले कसै न कसैलाई गुरु मान्थे, ढोग गर्थे, त्यो शक्तिभन्दा ज्ञान माथि छ भन्ने मान्यता र संस्कृतिको प्रमाण थियो । इसाइहरुले प्रयोग गरेको चर्च र दरबारको शक्तिलाई फरक-फरक, ‘गड’ र ‘सिजर’ को शक्तिलाई फरक-फरक, ‘प्रार्थना’ र ‘तरबार’ को शक्तिलाई फरक-फरक गरेर बुझ्ने शब्द ‘सेक्युलरिज्म’ लाई हामीले ‘निरपेक्ष’ भनेर अनुवाद गर्‍यौं, त्यो अनुवाद कति ठीक छ भन्ने बहस आवश्यक छ आज ।

नेपालीमा मात्र हैन, देवनागरिक लिपीमा लेखिने अधिकांश दक्षिण एशियाली भाषाहरुमा ‘निरपेक्ष’ शब्दले दिने दुईवटा अर्थ हुन्छ । कि परम (युनिभर्सल) का लागि निरपेक्षत शब्द प्रयोग गरिन्छ, कि ‘वेवास्ता’ ‘कुनै कुरासंग मतवल नभएको’ भन्ने अर्थमा प्रयोग गरिन्छ ।

हुनतः नेपाली शब्दकोषहरुमा धर्मनिरपेक्षताको अर्थ ‘सबै धर्मप्रति समभाव राख्ने’ भन्ने लेखिएको छ । तर त्यो हाम्रो मौलिक अर्थ हैन, आयातित अर्थ हो । धर्मनिरपेक्षताको मौलिक अर्थ त धर्मप्रति तटस्थ, वा धर्मप्रति कुनै वास्तामतलव नभएको भन्ने हुन्छ ।

नेपालमा ‘निरपेक्षतावाद’ ले ‘धार्मिक स्वतन्त्रता’ भन्ने अर्थ दिँदैन । शब्दका अर्थ पनि प्रयोग गर्ने समाजको प्रचलन र मनोविज्ञानअनुसार फरक हुन्छन ।

जनजाति आन्दोलनले बुझ्नु पर्ने कुराः

नेपालमा धर्म निरपेक्षताको एउटा कारण वा आधारतत्व जनजाति, आदिबासी वा सीमान्तकृत आन्दोलनलाई पनि मान्ने गरिन्छ । उनीहरु एकातिर आफै ‘पहिचानवादी’ राजनीति गर्दैछन, अर्कोतिर कुनै न कुनै किसिमले दक्षिण एशियाको पहिचानसँग विरत पनि छन् । मानौं कि नेपालका आदिबासी जनजातिहरु हिन्दू हैनन्, किरात हुन्, बौद्ध हुन्, जैन हुन्, सिख हुन्, प्रकृतिपूजक हुन्, तर यी पनि त सबै पूर्वीया दर्शन नै हुन् । यिनीहरुको पनि त संरक्षण र विकास यही हुनुपर्छ । यी बाँचेका पनि दक्षिण एशियामा नै हुन् । यिनीहरुको उदगमस्थल पनि यही हो ।

नेपाल सरकारले पशुपति वा लुम्बिनी क्षेत्र विकासका लगानी कटौती गरेर चर्चहरुमा लगानी गर्न सक्दैन भन्ने कुरा संसारले बुझेको छ

हिन्दूत्वसँग टकराएर के यिनीहरुले इस्लाम र इसाइबाट संरक्षण प्राप्त गर्लान् ? या सजिलै युरोप, अमेरिका, अरब र अफ्रिकामा गएर फैलिएलान् ? पशुपतिनाथ र मुक्तिनाथको कुरा छोडौं, लुम्बिनी र लारुम्बाको विकास गर्नचाहिँँ नेपाल सरकारको योगदान चाहिन्छ ।

देशलाई धर्मनिरपेक्ष बनाएर हामी पशुपति, लुम्बिनी र लारुम्बाको विकास कसरी गर्न सक्छौं ? बौद्ध र मुन्धम विश्वविद्यालय त्यसमा राज्यको लगानीको माग कसरी गर्न सक्छौं ? के हामी संस्कृति मन्त्रालय र गुठी संस्थानका कार्यहरु सम्पूर्ण रुपमा समुदायलाई नै छोड्न, त्यसमा राज्यको कुनै लगानीको माग नगर्न तयार छौं ? यदि छौं भने ठीकै छ । अन्यथा एकपटक सोचौं कतै हामी आफ्नै खुट्टामा बञ्चरो हानिरहेका त छैनौं ?

नेपालको संविधानमा जे लेखे पनि नेपाल व्यवहारले ‘धर्मनिरपेक्ष’ हुन नसक्ने रहेछ । नेपालको सीमा ‘धार्मिक स्वतन्त्रता’ हो । ‘धर्म निरपेक्षता’ को कार्यान्वयन गर्ने नाममा नेपाल सरकारले पशुपति वा लुम्बिनी क्षेत्र विकासका लगानी कटौती गरेर चर्चहरुमा लगानी गर्न सक्दैन भन्ने कुरा संसारले बुझेको छ । कसैले बुझ्न बाँकी छ भने सबैले बुझ्न पनि पर्छ । किरात धर्मस्थल इलामको बाँझो र बराहक्षेत्र धाममा लाग्ने कुम्भमेलामा नेपालमा सरकारले जुन लगानी गर्छ, त्यतिनै लगानी मुस्लिम जलसाहरुमा किन गर्दैन भनेर कसैले प्रश्न सोधेमा यसको उत्तर दिन सजिलो छैन ।

निष्कर्षः

एउटा विवाहित, सन्तानको पिता भइसकेको मान्छेलाई कसैले सोध्यो ‘तिमी पुत्र हौ ? पति हौ ? पिता हौ ? ज्वाइँ हौ ? कि मित्र हौ ?’ यसले के उत्तर देला ? ऊ मातापिताको पुत्र हो, पत्नीको पति हो, सन्तानको पिता हो, ससुरालीको ज्वाइँ हो, साथीसंगतिहरुको मित्र हो । यी फरक-फरक भूमिका के उसका लागि अस्वाभाविक छन् ? के एकसाथ उसले यी भूमिका गर्न सक्दैन ? तिमी पुत्र हौ भने पति हुन पाउन्नौ, पति हौ भने पिता हुन पाउन्नौ, पिता हौ भने ज्वाइँ हुन पाउन्नौ, ज्वाइँ हौ भने मित्र हुन पाउन्नौ भन्न मिल्छ ? यस्तो आग्रह चाहिँ सही हुन्छ कि वाहियात ?

नेपालमा ‘धर्मनिरपेक्षतावाद’ वा ‘हिन्दूराष्ट्र’ भन्दा ‘धर्मिक स्वतन्त्रता’ नै बढी सही निष्कर्ष हो

एक्काइशौं शताब्दिको विशेषता नै के हो भने यहाँसम्म आइपुग्दा यस अघिका सबै सिद्धान्तका ‘सेट थ्यौरी’ हरु खल्बल्लिइसकेका छन् । कम्युनिष्ट लोकतन्त्रवादी हुँदैन, लोकतन्त्रवादी समाजवादी हुँदैन, कम्युनिष्ट वा लोकतन्त्रवादी सम्र्वद्धनवादी हुँदैनन् भन्ने सिद्धान्त अबको दुनियाँमा काम लाग्दैन । लोकतन्त्रवादी, गणतन्त्रवादी, संघवादी, समाजवादी वा साम्यवादी हुन ‘धर्मनिरपेक्षतावादी’ हुनुपर्छ भन्ने छैन । तिमी उदारवादी हौ भने समाजवादी हुन पाउन्नौ, समाजवादी हौ भने अराजकतावादी हुन पाउन्नौ, वर्गवादी हौ भने पहिचानवादी हुन पाउन्नौ, फ्राइडवादी हौ भने मार्क्र्सवादी हुन पाउन्नौ भन्ने कुरा बेतुक र वाइयात भइसक्यो ।

क्वान्टम क्रान्ति र उत्तरआधुनिकताले यस्ता सबै केन्द्रवादी सोचहरु भंग गरिसकेको छ । वीपी कोइरालाले ‘म राजनीतिमा लोकतन्त्रवादी, अर्थनीतिमा समाजवादी, कला साहित्यमा अराजकतावादी हुँ’ भनिसकेका थिए । करिब उनकै समकालीन डेनियल बेलले ‘म राजनीतिमा उदारवादी, अर्थनीतिमा समाजवादी, सौन्दर्यशास्त्रमा अराजकतावादी र संस्कृति नीतिमा सम्वर्द्धनवादी हुँ’ भनिसकेका थिए ।

कम्तिमा यो पंक्तिकारलाई यसो भन्न कुनै लज्जा र आत्मग्लानी छैन कि म राजनीतिक प्रणालीमा सहभागितामूलक लोकतन्त्रवादी, अर्थनीतिमा बजार-समाजवादी, सौन्दर्यशास्त्रमा अराजकतावादी, सांस्कृतिक नीतिमा सम्वर्द्धनवादी र मोक्षशास्त्रमा अस्तित्ववादी हुँ

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s